पाथीभरा माताको दर्शन गर्न कुन समय उपयुक्त हुन्छ? कसरी जाने ? - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 1 August 2020

पाथीभरा माताको दर्शन गर्न कुन समय उपयुक्त हुन्छ? कसरी जाने ?

फरकसन्देश/ताप्लेजुङ : ताप्लेजुङमा अवस्थीत पाथीभरा देवीको मन्दिर नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थल मध्येको एक हो । मन्दिर दर्शनका लागि जानुहुने यात्रीहरुका लागि त्यही सहज छैन् । कारण पाथिभरा माताको मन्दिर पहाडी क्षेत्र बढी अर्थात उकालो भागमा अवस्थित छ । पाथीभरा माताको मूल थान मेची अञ्चलको ताप्लेजुङ जिल्लामा पर्दछ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किमिको दूरीमा भए तापनि उच्च पहाडी भेग भएकाले लगभग सजिलै २ दिनको हिँडाइमा पुगिन्छ । माताको मन्दिर समुद्र सतहबाट ३७९४ मिटर अर्थात् १२ हजार ४४४ फुटको उचाइमा अवस्थित छ । 

अन्न भरेको पाथी झैँ सुन्दर, मनमोहक आकृति बाकेको पहाडको शिख -टुप्पो)मा देवीको उत्पत्तिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ रहेको मानिन्छ । ताप्लेजुङ सुकेटार विमानस्थलबाट देखिएको पाथीभरा माताको डाँडो यस्तो छ लेकमा पर्ने भएकाले सुकेटार विमान स्थलपछि पैदल मार्ग सुमनोहर जङ्गल भएर जानु पर्दछ । लेकाली वन वनस्पति हेर्दै चराचुरुङ्गीको चिरबिरको आनन्द लिँदै यात्रा गर्न पाइन्छ । पाथीभरा माताको दर्शन गर्न मेची अञ्चल र ताप्लेजुङ जिल्लाका मात्र नभई स्वदेशकै अन्य क्षेत्र र भारतबाट समेत प्रतिवर्षहजारौँ तीर्थ यात्रीहरू आउने गर्दछन् । 
परापूर्वकालमा त्यहाका गोठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नो भेडिगोठ बनाउने गर्थे एक दिन अचानक रातको समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएको र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएको निर्देशन अनुसार बलियो भेडालार्इ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताको तस्तै त्यहि ठाउमा देखिएपछि देविको साच्चै उत्पती रहेको किमदन्ती रहदै आएको छ । त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ ।

पाथीभरा पञ्च कन्या साक्षात् भगवती देवी हुन् । देवीलाई अनिवार्य नभए पनि पशुबलि चढ्छ । बलि पूजा नगर्नेहरूले मिर्ठाई नरिवल र फलफूलको भोग लगाउँछन् । अटल सौभाग्यकी देवी हुनाले सौभाग्यका प्रसाधनहरू -सिन्दुर-टीका, गाजल, काँगियो, चुरा, धागो आदि) सामान अनिवार्य रूपमा चढाइन्छ । देवीको प्रिय रङ्ग रातो रङ्गका वस्त्र, सारी, फरिया, चोली, घुम्टी आदि चढाइन्छन् । तामा पित्तलका पूजाका भाँडा-कुँडा, घण्ट आदि चढाउने व्यापक चलन छ । चढाइएका पूजाका भाँडाकुँडाले कोठा नै भरिएको छ । चढाएको भेटीहरू कसैले लिनु हुँदैन, लिएमा क्षति हुन्छ भनिन्छ । नैवेद्य, प्रसाद लिँदा पनि आफैंले उठाउनु हुँदैन, पुजारीसँग किन्नु पर्दछ भनिन्छ । भित्र गर्भगृहमा अखण्ड दीप प्रज्वलन भएको छ । प्रत्येक नव वर्षो दिन मन्दिर स्थापनाको उत्सव मनाउने गरिएको छ । असोज र चैत्र नवरात्री, माघ, चैत दशैँ र असारमा पनि विशेष पूजा गरिन्छ ।

कसरी जाने ?
झापाको बिर्तामोडबाट ताप्लेजुङ सदर मुकामसम्म दैनिक सखारै ४ बजे र बिहान ८ बजे बस सेवा छ । बिर्तामोडबाट इलाम, फिदिम -पाँचथर) गोपेटार, काबेली भई ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगिन्छ । इलाम, फिदिम भई ताप्लेजुङसम्म २३७ कि.मि. दूरी पर्दछ । पहाडी सडक भएको र लोकल बसको रूपमा चल्ने भएकाले समय बढी लाग्छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार -उचाइ १८२४ मिटर) देखि पाथीभरा माताका फेदीसम्म सडक निर्माणाधीन छ । हाल हिउँदमा जीप र टे्रक्टर देउराली भन्ने स्थानसम्म पुग्दछन् । सदरमुकामदेखि सुकेटार विमानस्थल करिब डेड घण्टाको उकालो हिँडाइपछि पुगिन्छ । 

के कुरामा ध्यान दिने ?
फेदीदेखि माथि धामसम्म धागो टाँग्ने चलन पनि छ । माथि धाममा पानीको अभाव र धेरै यात्रुलाई एकै पटक बसोबासको समस्या पर्ने भएकाले बास बस्ने हो भने पुजारी गुरुलाई सोधेर जानु बेस हुन्छ । किनेर खानको लागि कुनै पसल र सुविधा छैन । धामबाट तल र्झन सजिलो हुन्छ, पूजा सकेर तल फेदीमा फर्केर बस्ने गरी कार्यक्रम बनाउनु उत्तम हुनेछ । कुहिरोबाट पानी निकाल्ने प्रविधि प्रयोग गरेर धाममा पिउने पानी जम्मा गरिन्छ, तथापि सुख्खा महिनामा कुहिरो नलागेर पानीको अभाव हुन्छ । त्यसैले धाममा आफ्नो लागि खानेकुरा र पिउने पानीको जोहो आफैले गरेर जानु बेस हुन्छ । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.