नेकपाको विवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 14 August 2020

नेकपाको विवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन

काठमाडौँ, ३० साउन : नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको छलफलमा कार्यदल गठन गरी समस्या समाधान गर्न सहमति भएको हो ।

नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलमा स्थायी समितिका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल रहनुभएको जानकारी नेकपा प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।

सल्लाहकार थापाका अनुसार कार्यदललाई पार्टीको आन्तरिक समस्याको सकारात्मक ढङ्गले समाधान खोज्न, पार्टी एकतालाई अक्षुण्ण राख्न र पार्टी तथा सरकारलाई प्राप्त भएको जनादेश अनुसार प्रभावकारी ढङ्गले अघि बढ्ने सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ ।

हिजो बिहीबार पनि अध्यक्षद्वयबीच भएको छलफल पार्टीको आन्तरिक समस्या समाधान गर्ने गरी सकारात्मक दिशामा अघि बढेपछि आज पनि छलफलले निरन्तरता पाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वयबीचको आजको छलफलमा पनि नेकपाका महासचिव पौडेल तथा स्थायी समिति सदस्यहरू शङ्कर पोखरेल र जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।

कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ । पहिलो अध्यक्ष ओली नै रहने तर प्रचण्ड पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन गर्ने तयारी छ ।

यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने र मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने गरी कार्यदलले सहमतिको मस्यौदा बनाउनेछ । त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावबारे पनि कार्यदलले काम गर्नेछ ।

कार्यदलले काम सकेपछि स्थायी कमिटी बैठक बसाउने र त्यहाँबाट निर्णय गर्ने ओली र प्रचण्डको तयारी छ । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.