दमकमा भदाै ६ गतेसम्म लकडाउन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 16 August 2020

दमकमा भदाै ६ गतेसम्म लकडाउन

दमक, ३२ साउन : समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आइतबार रातिदेखि लागू हुने गरी एक हप्ता लकडाउन हुने भएको छ ।

कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आइतबार नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । 

लकडाउन अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन् । दूधका पसल दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिनुभयो । 

लकडाउनका क्रममा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने, एम्बुलेन्सबाहेकका गाडीले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने, मोटरसाइकल कुनै गाडी सञ्चालन गर्न नपाइने उहाँले बताउनुभयो।

शनिबार दमकमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै दमकमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताउनुभयो । 

यसअघि दमक उद्योग वाणिज्य सङ्घले पनि आइतबार राति १२ बजेपछि अत्यावश्यकबाहेक सबै प्रकारका पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय दमकसहित देशैभरि कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिँदै गएपछि झापा, दमकका व्यवसायीले जोखिम हुन नदिन भन्दै पसल आफै बन्द गर्न थालेका छन् ।

दमकमा समुदायमा कोरोना सङ्क्रमण देखिएसँगै यहाँका व्यवसायीले आफ्ना पसल, व्यवसाय स्वतःस्फूर्त बन्द गर्न थालेका हुन् । दमकको चाेक आसपासका भिडभाड हुने स्थानका व्यापार तथा व्यवसाय सङ्क्रमण फैलिन नदिन भन्दै खनाल मार्केट पाँच दिनका लागि स्वतःस्फूर्त बन्द गर्ने निर्णय गरेका हुन् ।

दमकमा ओपीडी सेवा बन्द
दमकमा कोरोना सङ्क्रमण समुदायसम्म फैलिएको र कतिपय कोरोना सङ्क्रमित जाँचका लागि अस्पतालसम्म पुगेको पनि पत्तो पाएपछि यहाँ रहेका अस्पताल र क्लिनिक ओपीडी सेवा बन्द गर्ने निर्णयमा पुगेका छन् । ओपीडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनुभयाे । 

जिल्लाको मेचीनगरमा एक चिकित्सकमा केही दिनअघि कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि दमकको निजी दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक जना सङ्क्रमित व्यक्ति उपचारमा आएको पत्तो पाएपछि त्याे हस्पिटलमा आवत जावतमा रोक लगाइएको छ । त्यसपछि दमकका एक जना तरकारी व्यापारी दमककाे एक अस्पतालमा उपचारका लागि गएको खुलेपछि अस्पताल पनि सिल हुने सम्भावना रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.