बारामा पनि आइतबार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी हुँदै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 1 August 2020

बारामा पनि आइतबार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी हुँदै

बारा, १७ साउन : कोरोना सङ्क्रमणको जोखिम बढेपछि बारा जिल्लामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । छिमेकी जिल्ला पर्सामा समुदायस्तर तथा बारा जिल्लामा दिन प्रतिदिन कोरोनाको जोखिम बढ्दैगएपछि बारा जिल्लाभरि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिएर उच्च जोखिम सिर्जना हुने देखिएकाले शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक भेला हुन तथा घरबाहिर निस्कन प्रतिबन्ध लगाएको उहाँले बताउनुभयो ।

छिमेकी जिल्ला पर्सामा निषेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरिकहरू बाराका विभिन्न बजार तथा बैङ्क र वित्तीय संस्थाहरूमा कारोबार गर्न आउँदा यहाँ पनि सङ्क्रमण फैलन सक्ने सम्भावना उच्च देखिएकाले २०२८ को दफा ६(३) र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० दफा २ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।

सो निषेधाज्ञा जारी गरिएको अवधिभर अत्यावश्यक वस्तुबाहेक सवारी साधन र हिँड्डुल गर्न नपाइने व्यवस्था गरिएको छ । पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरू, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुरलगायत अत्यधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामीण क्षेत्रहरूमा निषेधाज्ञा लागू गरिएको उहाँले बताउनुभयो ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थानबाहेक अन्य सेवा प्रवाह गर्ने कार्यालयहरू बन्द गर्ने निर्णय भएको छ । यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरूमा आवतजावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ । निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरू (विवाह, व्रतबन्ध, भोजभतेर) गर्न प्रतिबन्ध लगाइएको छ ।

बैठकले औषधि पसल २४ सै घण्टा खुल्ला रहने र खाद्यान्न, ग्यास, इन्धन, दूध, डेरी पसलहरू, तरकारी पसलहरू मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा बिहान १० बजेदेखि मात्र बिक्री गर्न पाउने निर्णय गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.