फर्की जाऊ कोरोना : अम्बिका अर्याल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 29 August 2020

फर्की जाऊ कोरोना : अम्बिका अर्याल

कविता 

सूक्ष्मताको आँचल ओढेर
यमदूतको वाचा बोकेर
धर्तीमा सिङ्गौरी खेल्दै
निष्पट अँध्यारो फिँजाउन 
मानव शरीरका ज्योतिमा छिरेर
सुटुक्क मृत्युको छुरा चलाउँदैछ कि ?
वा
युगको इतिहास फेरेर
विज्ञानलाई घुँडा टेकाएर
अहम्का चुली भत्काउँदै
विध्वंसको नारा घन्काउँदै
विश्वमा ताण्डव नृत्य गर्दैछ ऊ ? 
वा
चुनीचुनी आफ्नै विरोधी 
रेटेर त्रासको धारले
बदलेर स्वरुप आफ्नै
हिंसाको कस्तो दागा धर्दैछ ऊ ?
तर 
घरमै बन्दी छन् मानवजाति
प्रकृतिलाई समेत
मुठीमा लिएर
आफ्नै घोषित गर्नेहरू
संसार जितेको जोशमा
सिंहनादमा गर्जेर
भोजमा मोज गर्नेहरू
भौतिकताको भेलमा
ज्ञानको समुद्र भेटेर
शिला कुल्चेर
सुनका मूर्ति पुज्नेहरू
सत्यका खोजीमा हस्तरेखा पढ्दै
भड्केका आत्मासँग
साक्षात्कारको दाबी गर्नेहरू
सबैसबै चित खाइसके
न पुजेर शक्ति
न त भिरेर विज्ञानको माला
न पढेर भविष्य चामलका गेडामा
कोरोनाको सामर्थ्य धपाउन कसले पो सक्याे र ?
आज
अदृश्यको गन्तव्य छेक्न
विश्वको ढोका थुनिएको छ
प्रवेश निषेधको बलियो र एकसूत्रीय
योजना बुनिएको छ
सदनमा नारा त्यही
सडकमा ध्वनि उही
धनको खेल सुस्तायो
कालको खेल मौलायो
जालझेल डराएन
सीमारेखामा लुछाचुँडी
चुनावी चमकतामा चेपिएका
कुर्सीको चहलपहल उही
साँढेका जुधाइमा बाच्छा मिचिइसके
हिंसा, बलात्कार र विभेद डराउन्न
उल्टो
सीमारेखा भत्काउँदै
हृदय दच्काउँदै
घरघर पसेको मृत्युसँग
पौँठेजोरी खेल्न तम्सनेको भीडमा
हेलचेक्राईँको प्रतिस्पर्धा बढेपछि
कोरोना
न्यायाधीश बनेर उभिएको छ
आफ्नै विधान बोकेर
रित्तिँदो मानवता
विभेदको खाडल
आडम्बरको ओट
सत्ताको खेल
धनाड्यको धाक
गरिबीको राप
बदल्ने प्रयत्न केवल प्रयत्न बन्यो र हो कि ? 
ऊ कर्तव्यपरायणता छाडेर विध्वंस रोज्दैछ
अब ऊ आफैँ आजित भएर
विश्वबन्धुत्व र भाइचारा
शान्ति र समानता बिर्सेका पाखण्डीसँग
हाहाकारमा आफ्नै पाठा लुछाचुँडी गर्ने
रगत पिएर नअघाउने सिंहका लालसासँग
मृत्युको खेल खेल्दैछ
तर,
कोरोना बदलिएला मानव कुन्नि
हाहाकारमा बालकका दर्दनाद जुनी
गरिबीका निभेका चुल्होका ध्वनि
त्रासले गलेका मानवचोला
गुहार्दै कोरोनालाई भन्दैछ
अब त अति भो सुध्रिन्न मति
कति सहनु निमुखाले खति
फर्केर जाऊ आफ्नै घर
नओढी मानवका ढोँगी च्यादर
फर्की जाऊ आजै कोरोना अब ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.