झापाको कनकाईमा निर्माण गरियो कोशेली घर - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 19 July 2020

झापाको कनकाईमा निर्माण गरियो कोशेली घर

झापा, ४ साउन : स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न झापाको कनकाई नगरपालिकास्थित जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिले कोसेली घर निर्माण गरेको छ । 

स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले हातले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइ प्रवद्र्धन गर्ने उद्देश्यले कोसेली घरको निर्माण गरिएको हो । यो सम्भवतः जिल्लाकै पहिलो कोसेली घर हो । 

सो कोसेली घरमा जिल्लाका घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका झोला, डोको, डालो, डाकीलगायतका विभिन्न घरेलु उत्पादन राखिने जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिकी सचिव मनिता राईले बताउनुभयो । 

उहाँका अनुसार सो कोसेली घर निर्माणका लागि कनकाई नगरपालिकाले रु. १० लाख, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु. पाँच लाख र वनले रु. एक लाख ५० हजार लगानी गरेको छ । लकडाउनकै अवधिमा निर्माण गरिएको कोसेली घर जिल्लामै पहिलो भएको दाबी गर्दै उहाँले भन्नुभयो, “सहज अवस्था हुँदा यहाँ दैनिक पाँच सयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । उनीहरुलाई यहाँबाट कोसेलीको रुपमा स्थानीय उत्पादन सस्तो मूल्यमा उपलब्ध गराइन्छ ।” 

पर्यापर्यटनको क्षेत्रमा प्रदेश नं.१ मै अग्रणी स्थानमा रहेको जामनुखाडी सामुदायिक वनले निर्माण गरेको कोसेली घरले यहाँका उद्यमीहरुको जीवनस्तरमा समेत परिवर्तन आउने विश्वास लिइएको छ । 

कोेसेली घर सञ्चालनको लागि कार्यविधि समेत बनाइसकिएको छ । कोभिड—१९ को महामारीबाट जनजीवन सहज अवस्थामा आउने वित्तिकै कोसेली घर सञ्चालनमा ल्याइने सचिव राईले जानकारी दिनुभयो ।

यस सामुदायिक वनमा जरायो, भालु, चितुवा, अजिंगर, हरिण, मृग, अस्ट्रेरिज, निलगाईलगायत दर्जनौं जीवजन्तु पालिएको छ । सामुदायिक वन भित्रै बाल उद्यान, दुई वटा ठूला बोटिङ गर्ने पोखरी, पोखरीमाथि बनाइएको झोलुङे पुललगायत पर्यटकलाई आकर्षण गर्न बनाइएको सुन्दर बगैंचाले जोसुकैलाई आकर्षित गर्ने गरेको छ ।

जिल्लामा मेची उद्योग वाणिज्य सङ्घले धुलाबारीमा कोसेली घर निर्माण गरेर भारतलगायत तेस्रो देशबाट आउने पर्यटकलाई घरेलु नेपाली उत्पादन सहज रुपमा उपलब्ध गराउने भनिए पनि हालसम्म बनाउन सकेको छैन ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.