महासङ्घको निर्वाचन रोकिएकामा असन्तुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 25 July 2020

महासङ्घको निर्वाचन रोकिएकामा असन्तुष्टि

काठमाडौँ, १० साउन : नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा एवं निर्वाचन स्थगित भएकामा एउटा समूहले असन्तुष्टि जनाएको छ । 

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाललगायतको समूहले शुक्रबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी साधारणसभा स्थगित भएकामा असन्तुष्टि जनाएको हो । कार्यसमितिको बैठकले अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै सो समूहले असन्तुष्टि जनाएको हो । महासङ्घको पूर्वअध्यक्षसहितको बिहीबारको बैठकले सरकारले सभा सम्मेलन गर्न पाउने गरी निर्णय गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय गरेको थियो । 

महासङ्घका उपाध्यक्षसमेत रहनुभएका ढकालले साधारणसभा गर्नसक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाइ निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएकामा गुनासो गर्नुभयो । उहाँले महासङ्घमा गलत प्रवृत्ति विकास भएको भन्दै साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिँदा कानूनी मात्र नभई नैतिक र सामाजिक जगसमेत कमजोर भएको बताउनुभयो । 

उहाँले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी गर्दै जटिल परिस्थितिमा महासङ्घलाई सबल, सक्षम नेतृत्व जरुरी रहेको बताउनुभयो । कोरोनाको महामारीका अवस्थामा महासङ्घका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद् भएको उहाँको भनाइ छ । 

कोरोनाका कारण गत चैतमा साधारणसभा हुन नसकेपछि महासङ्घले यही साउन २६ र २७ गते आयोजना गर्ने यसअघि निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार, वस्तुगत सङ्घकोतर्फबाट उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ, एशोसिएट तर्फका उपाध्यक्ष रामचन्द्र सङ्घई र जिल्ला वाणिज्यतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीलगायत उपस्थित हुनुहुन्थ्यो । 

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यालयको स्वतःअध्यक्ष हुने व्यवस्था छ । सोही कारण वरिष्ठ उपाध्यक्षलगायत उपाध्यक्ष र अन्य सदस्यको निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र ढकालको छुट्टाछुट्टै प्यानल यसअघि नै घोषणा भइसकेको छ ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.