सडक अवरुद्ध भएपछि दुई गाउँपालिकामा यातायात ठप्प - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 20 July 2020

सडक अवरुद्ध भएपछि दुई गाउँपालिकामा यातायात ठप्प

बनेपा, ५ साउन : निरन्तर परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि काभ्रेपलान्चोकका दुई गाउँपालिकामा यातायात ठप्प भएको छ । 

दूर्गम डाँडापारि क्षेत्रको महाभारत र खानीखोला गाउँपालिका जोड्ने सडकखण्डको ठाउँठाउँमा पहिरो गएपछि जिल्ला सदरमुकाम आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो । जिल्ला सदरमुकामबाट महाभारत गाउँपालिका जोड्ने ‘बनेपा–कटुञ्जे–सिपाली–बुढाखानी–बनखु’ सडकखण्डको महाभारत–६ घ्याब्रिङमा पहिरो गएपछि सवारी साधन चल्न नसकेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । 

सडक अवरुद्ध भएपछि अहिले डाँडापारिबाट जिल्ला सदरमुकाम आवतजावत गर्नका लागि रोशी गाउँपालिकाको सिसाखानी रोशी खोलासम्म हिँड्नुपर्ने बाध्यता छ । उता डाँडापारि क्षेत्रकै विकट खानीखोला गाउँपालिका जोड्ने सडक खण्डको पनि ठाउँ–ठाउँमा पहिरो गएका कारण यातायातको साधन चल्न सकेको छैन । सदरमुकामसँग गाउँपालिका केन्द्र तालढुङ्गा जोडिएको ‘पनौती–खोपासी–तालढुङ्गा’ सडकखण्डको स्याउरीथलीमा अविरल वर्षाका कारण पहिरो गएर सडक नै बगाएपछि अहिले गाडी चल्न नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताउनुभयो । जिल्ला सदरमुकाम आवतजावतका लागि अहिले खोपासीसम्म पैदल हिड्नुपर्ने बाध्यता रहेको छ ।

यसैबीच अविरलरुपमा परेको वर्षाका कारण बनेपाको पुल बजार क्षेत्र डुबानमा परेपछि अरनिको राजमार्ग भएर गुड्ने सवारी साधन सञ्चालनमा समस्या भएको छ । पुन्यमाता खोलामा आएको बाढीले बजारक्षेत्र डुबानमा परेपछि सडकमा आवतजावत गर्न समस्या हुनुका साथै यहाँका स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

त्यस्तै अविरल वर्षाका कारण बीपी राजमार्ग सडकखण्डअन्तर्गत नमोबुद्ध नगरपालिका–५ ल्हासकोटास्थित क्रसर उद्योगले थुपारेको डस्ट बगाएर भएको सडक अवरुद्ध दिउँसोबाट खुलेको छ । सडकमाथि भित्तामा सञ्चालन गरेको मनकामना क्रसर उद्योगले सडकमाथि थुपारेको डस्ट बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । सो अवरुद्ध सडक दिउँसोबाट सञ्चालनमा आएको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.