नेकपा नेता चापागाईँको निधन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

नेकपा नेता चापागाईँको निधन

पाँचथर, १२ साउन : राजनीतिक एवम् सामाजिक व्यक्तित्व थुमनाथ चापागाइँको ६९ वर्षका उमेरमा आज बिहान निधन भएको छ । आफन्तका अनुसार उहाँको फिदिम नगरपालिका वडा नं १२ स्थित निवासमा निधन भएको हो । अर्बुद रोगबाट पीडित भई लामो समय काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिए पनि रोग निको नहुने भएपछि केही दिनअघि मात्रै उहाँलाई निजी निवास ल्याइएको थियो । उहाँको मङ्गलबार अन्त्येष्टि गरिने उहाँका भतिजा मनरथले जानकारी दिनुभयो । दिवङ्गत चापागार्इँका दुई श्रीमती, सात छोरा र पाँच छोरी हुनुहुन्छ ।

विसं २००८ जेठ १६ गते जन्मनुभएका चापागाईँ पञ्चायतकालमा जनपक्षीय उम्मेदवार भई एक पटक नांगीन गाउँ पञ्चायतको प्रधानपञ्चमा चुनिनुभएको थियो । यस्तै २०५४ को स्थानीय निर्वाचनमा उहाँ नांगीन गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो । कम्युनिष्ट पार्टीका कुशल सङ्गठक चापागाईँको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँथे । गत स्थानीय तह निर्वाचनमा उहाँ तत्कालीन नेकपा (एमाले)बाट फिदिम नगरपालिकाको प्रमुखको आकाङ्क्षीसमेत हुनुहुन्थ्यो । 

जीवनभर सामाजिक क्षेत्रमा सक्रिय उहाँ तत्कालीन नेकपा (एमाले) पाँचथरको उपसचिवमा निर्वाचित हुनुभएको थियो । स्वास्थ्यमा समस्या भई पछिल्लो पटक सक्रिय राजनीतिबाट बाहिर रहनुभएका चापागाईँ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ प्रदेश सल्लाहकार परिषद् सदस्य रहनुभएको थियो । उहाँ सामुदायिक विद्युतीकरण जिल्ला सहकारी सङ्घ पाँचथरको अध्यक्षलगायत विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्वमा समेत रहनुभएको थियो ।(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.