आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 19 July 2020

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

काठमाडौँ, ४ साउन  : प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । 

परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ ।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन् ।(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.