पर्सामा पाँच भारतीयसहित ३२ जनामा सङ्क्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 24 July 2020

पर्सामा पाँच भारतीयसहित ३२ जनामा सङ्क्रमण

वीरगञ्ज, ९ साउन : नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा पाँच जना भारतीयसहित ३२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । भारतबाट अवैधरुपमा नेपाल भित्रिरहेको अवस्थामा गत शुक्रबार पक्राउ परी थुनामा रहेका पाँच जना भारतीय नागरिकसहित ३२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले बताउनुभयो ।

नयाँ भेटिएका सङ्क्रमितहरूमा पाँच जना थुनुवा कक्षमा रहेका भारतीय नागरिक, छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५, भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३, सवैठवाका ५० र २७ वर्षीय पुरुषबाहेक अन्य २३ जना वीरगञ्ज निवासी रहेको कोभिड अस्पतालका कोअर्डिनेटर सिंहले जानकारी दिनुभयो । नयाँ फेला परेका सङ्क्रमितहरूमा नाै महिने शिशुदेखि ६० वर्षीय महिलासम्म रहेको बताइएकाे छ । जसमध्ये सात महिला, २५ जना पुरुष रहेको उहाँले बताउनुभयो ।

नयाँ फेला परेका सबै ३२ जना सङ्क्रमितलाई नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको डा. सिंहले बताउनुभयो ।

पाँच जना थुनुवामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यालय, श्रीपुर वीरगञ्जलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय, पर्साका निरीक्षक जयमोद ठाकुरले दैनिकरुपका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको र कुनै पनि ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना पुष्टि भएकाले कोरोना समुदायमा फैलिसकेको दाबी गर्नुभयो । कन्ट्याक्ट ट्रेसिङ, सङ्क्रमित ओसारपसार, नमुना सङ्कलनलगायत काममा पर्साका विभिन्न सरोकारवाला निकायसँग राम्रो सहकार्य हुन नसकेकाले परीक्षण र बिरामीलाई अस्पतालसम्म लैजाने कार्यमा ढिलाइ भइरहेको ठाकुरले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.