यात्रा मसानघाटको : सन्ध्या भण्डारी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 30 July 2020

यात्रा मसानघाटको : सन्ध्या भण्डारी

किन डराइरहेछ आफूसँग आफैं 
गरिरहेछ घृणा आफैंलाई 
लुक्न खोजिरहेछ दुनियाँको नजरमा 
धिक्कारी रहेछ आफैंलाई किन?
पल्टाइरहेछ पुराना यादका पानाहरु
रहरै रहर बोकेर लम्किएका उसलाई 
देखाइरहेछ कहरै कहरले आज मसान घाटको बाटो
अल्झिरहेछ औंशीको रात झैँ अन्धकारको बाटोमा
खोजिरहेछ असम्भव जुनकीरीको साथ
खै!किन जीवनलाई चढाउँदै छ बली
मान्छे किन गरिरहेछ आत्महत्या ?

जब बाचिरहेथ्यो पलपल घिटघिट गरि
दुनियाँलाई फुर्सद भएन उसका कुरा सुन्न
उसको चहर्याई रहेको घाउमा मलम लगाउन
अन्धकारमा रुमल्लिरहेको उसको मनका कुनामा
आशाको सानो दियो जगाउन
अघि सरेनन् कोही
निसास्सिएको उसको श्वासमा श्वास थप्न
जब उसले चारैतिर अन्धकार देख्यो
उसका मनका बगैंचाहरु उजाडिए
साहाराको हात खोज्दा
तिरस्कारको काँडा फेला परे
विवश भयो ऊ आफैंले आफैंलाई मार्न!

पोस्टमार्टमसंगै चिरिएका उसको शरीरले
देखाउदो हो त केबल शारीरिक अबस्थाका रिपोर्टहरु
खै!कुन पोस्टमार्टममा देखिदो हो उसका मनका वेदनाहरु
दुनियाँ छोप्न थाल्यो
उसको निश्वास शरीरलाई
घृणा र तिरस्कारको कात्रोले
कायर र हुतियाराको दागबत्तीले जलाइयो
उसको निश्वाश शरीर 
उसका सपनी बोकेका सुनौला बिहान
आज बन्न पुग्यो हिम्मत नबोकेका चिहान 
चिहान माथि थुपारिए अनेकौं उपनाम
उठाइए औंला उसैको चरित्र माथि
यस्तै तीता व्यवहारले
गरिरहेछ विवश आत्महत्या गर्न।

अर्का थरी,
जो हिजो उसको एक्लोपनमा टाढिएका थिए 
जो सक्दैन थिए उसको मनका वेदनामा मलम लगाउन
आज त्यो बेजान शरीरलाई हेर्दै
ढलिसकेको रुखमा पानी हाल्न कोसिस गरिरहेछन् 
निभिसकेको दियो बल्ने प्रतीक्षा गरिरहेछन् 
यदि सामाजिक संजालका भित्ताहरुमा रंगिने
Say no to suicide का नाराहरु
उसको जीवनमा गुन्जाउन सक्थ्यौ भने
उसको रङ्गहीन जीवनलाई रङ्गाउने कोशिश गर्थ्यौ भने
पक्कै लट्काउने थिएन आफ्नो शरीर
उसले विवशताको पासोमा
जीवनका रङ्गहरुलाई बिर्सदै
जीन्दगीको दोबाटोमा अल्झिएको ऊ
बाटो खोज्दा खोज्दै पक्कै समाउने थिएन
आत्महत्याको त्यो बाटो 
बाध्यताले अल्झिएका उसका पाउहरुलाई
सही बाटो देखाउन सक्थ्यौ भने
पक्कै हुने थिएन आज ऊ
अल्पायु मै अलबिदा!
खाँचो थियो उसलाई तिम्रो हौसला र प्रेरणाको
तिम्रो माया र साहराको
अनि देख्नेथ्यो उसले पक्कै
सप्तरङ्गी रङ्ग बोकेको
उसको सुनौलो बिहानी।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.