सडकको बेदना : सन्ध्या भण्डारी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 21 July 2020

सडकको बेदना : सन्ध्या भण्डारी

सन्ध्या भण्डारी 
हो म त्यही हुँ
तिमीले देखिकी छौ र त भनेकी छौ
म त्यही हुँ
आज तिमीले भनेका कुरामा सहमती जनाउँदै छु
फेरि नबिर्स नि!
साउनमा मात्र देखेकी होइनौ तिमीले मलाई
अहिले मात्र घृणा गरेकी होइनौ तिमीले मलाई 
हेला गरेकी होइनौ साउनको पहिरोले थिचिंदा मात्र
अनि छि छि गरेकी होइनौ असारे भेलले हिलो पार्दा मात्र
भागेकी होइनौ भदौरे बाढी आइलाग्दा मात्र
तिमीले त मलाई बार्है महिना नराम्रै सोचेकी छौ
तिमीले देखेकी छौ र त भनेकी छौ
हो म त्यही हिलाम्मे सडक हुँ।

हो म त्यही हुँ
तिमी दशैंमा पिङ मच्चाउन आतुर भएर शहर छोड्दा
म तिमीलाई डाँडापारीको तिम्रो घर पुर्याउन आतुर हुन्थे 
नयाँ जुत्ताको डामले सजाउँथ्यौ जसलाई तिमी
पैतालाको डाम बसाउँथ्यौ जसलाई पहिलो चोटि देख्दा तिमी
अनि मोटर नचल्दा डमडम्ती हिड्थ्यौ
कुल्चिन्थ्यौ,झोला घिसार्थ्यौ
हो म त्यही हुँ
जो तिम्रो पल्लावारीलाई भत्काउँदै निक्लेको थ्यो
तिमीले भोगेकी छौ र भनेकी छौ
हो म त्यही तिम्रो २ पाथी कोदाको बीउ नासेको सडक हुँ।

हो म त्यही हुँ
छारो र धुलो मात्र खाएकी छौ
जसबाट तिमीले हिउँदमा 
गिज्जिएकी थियौ सहर आउँदा 
सजिएकी थियौ नेपाली पाउडरले
पहेँलै भएकी थियौ मोटरमा बस्दा पनि
अनि तल्लाबारी जाँदा फर्किएकी थियौ धुलाम्मे घाँस नबोकी
तर्सिएर भागेकी थियौ म संगै हिडेका यात्री देखि
कान थुनेकी थियौ पिंपिंप् को चर्को हर्न सुनेर
तिमीले धुलो खाएकी छौ र त भनेकी छौ
हो म त्यही धुलाम्मे सडक हुँ।

हो म त्यही हुँ
जहाँ तिमी धेरै चोटि लडेकी थियौ
जसमा चिप्लिएर नयाँ लुगा फेरेकी थियौ
बनको बाटो डर लाग्दा
मै संग हिडेकी थियौ
बाटोमा डर लागे मेरै घुम्ती भित्र लुकेकी थियौ
रोपेकी थियौ डिलडिलमा बिरुवा
गुडाएकी थियौ गुरुरु साइकल
हो म त्यही तिमीलाई साथ दिने सडक हुँ
आज थलिएको छु,पीडा पोख्दै छु
थुनिएको छु म आज पहिरोले
ढलेका छन् म माथी अनगिन्ती रुखहरु
खोल्सा र खाल्डाले मलाई धोद्रो बनाउँदैछन् 
बगाउँनै आँटेको छ बाढीले 
म त्यही अबरुद्ध भएको सडक हुँ
हो म त्यही सबैको बिग्रेको सडक हुँ
हो .. म त्यही सडक हुँ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.