नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 22 July 2020

नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय

काठमाडौँ, ७ साउन  : वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंले बताउनुभयो ।

बर्साद्को समयमा सलहहरू ठूला रुखका हाँगामुनि र पातमुनि बस्ने भएकाले केही दिनदेखि हराएजस्तो देखिए पनि मङ्गलबार पुनः देखिएको हुमागाईंले बताउनुभयो ।

स्याङ्जाबाट कृषि ज्ञान केन्द्रका प्रमुखले सहल सक्रिय भएको जानकारी दिनुभएको छ तर तिनीहरू कहाँ गएर बसेका छन् भन्ने बारेमा खोजी जारी रहेकाे उहाँले बताउनुभयाे । चार दिनदेखि निस्क्रिय रहेका सलह एक्कासि देखिएपछि कृषि ज्ञान केन्द्र स्याङ्जाले त्यहाँ वरपरका स्थानीयलाई सजग रहन अनुरोध गरेको छ । कुनै घना जङ्गलमै सलह बसेको हुन सक्ने र वर्षा कम भएसँगै त्यो पुन सक्रिय भएर लाग्ने गर्दछ ।

मङ्गलबार साँझ देखिएको सलहको झुण्ड ८ देखि १० लाखसम्मको भएको अनुमान गरिएको हुमागाईंले जानकारी दिनुभयो । असारमा कञ्चनपुरवाट प्रवेश गरेको सलहको झुण्डसमेत महाकाली नदी पार गरेको र तिनीहरू महाकाली नदी वारपार गरिरहेको हुमागाईंले बताउनुभयो । भारतमा रहेका सलह त्यहाका किसानहरूले लखेटेपछि नेपालमा आउने र नेपालका किसानहरूले लखेटेपछि भारत जाने क्रम निरन्तर चलिरहेका हुमागाईंले भन्नुभयो ।

सलह कडा खालको प्रजाति भएकाले वर्षाको समयमा ठूला आकारमा रुखका पात, हागाँको मुन्तिर बस्ने र घाम लागेसँगै सक्रिय बन्न थालेको हुमागाईंले बताउनुभयो ।

शुक्रबारसम्म हावाको बहाव नेपालतर्फ रहेकाले सलहको जोखिम रहेपनि शुक्रबारबाट हावाको बहाव राजस्थानतर्फ फर्कने भएकाले नेपालमा सलहको जोखिम शुक्रबारसम्म कायमै हुने हुमागाईंले बताउनुभयो ।

नेपालमा रहेका सलह शुक्रबारबाट राजस्थानतर्फ फकर्ने सम्भावना छ । हावाको बहावकै आधारमा तिनीहरूले यात्रा तय गर्ने भएकाले शुक्रबारसम्म नेपालमा जोखिम कायमै छ । नेपालमा अब तीन दिनसम्म सलहको जोखिम रहेकाले र सजकता अपनाउनुपर्ने हुमागाईंले भन्नुभयो । सहल देखिएमा नजिकैको कृषि ज्ञान केन्द्रमा खबर गरिदिन अाग्रह गर्नुभयाे ।

यतिबेला भारतको दिल्ली, उत्तर प्रदेश र बिहारमा सलहका झुण्ड सक्रिय रहेकाले अब हावाको बहाव नेपालतिर आएको र शुक्रबारबाट पुनः त्यतै जाने भएकाले तीन दिन जोगिएमा यो पटकको सलहको जोखिम टर्नेछ ।

सलहलाई धपाउन धुवाँ निकाल्ने, थाल पिट्ने नै हो यो विश्वमै सफल विधि भएकाले नेपालमा समेत यसको प्रयोग गरेको हुमागाईंले बताउनुभयो । सलहलाई सकेसम्म बस्न नदिने र निस्क्रिय बनाउन यो विधिले नेपालमा समेत काम गरेको उहाँले बताउनुभयो । एक ठाउँमा बस्न नदिने र हावाको गतिमा दौडने भएकाले सकेसम्म सीमा कटाउनु नै क्षति कम गराउन उचित रहेको र त्यसका लागि नेपालका किसानको प्रयास सराहनीय रहेको उहाँले बताउनुभयो । रासायनिक विषादीले निक्कै असर गर्ने भएकाले योभन्दा विश्वमै राम्रो भएको धुवाँ निकाल्ने र विधिले निक्कै राम्रो काम गरेको हो ।

सलह समाउनेलाई कम्तीमा पाँच सय रुपियाँ प्रतिकिलो अनुदान दिन सकेको भएमा सहल नियन्त्रणमा आउन सहयोग पुग्ने भएपनि आकर्षक प्रोत्साहन दिन नसक्दा समस्या भएको हुमागाईंले बताउनुभयो ।

आर्थिक वर्षको अन्तिम समयमा आवश्यक रकम विनियोजन गर्न नसक्दा समस्या देखिएको हुमागाईंले बताउनुभयो । कार्यदलले समेत एक किलोको पाँच सय रुपियाँ अनुदान दिन सकेमा नियन्त्रणमा ल्याउन सकिने सुझाव पेश गरेको थियो ।

दिनको समयमा सलह निकै क्रियाशील रहने भएकाले रातको समयमा ठूला रुख तथा भीरमा बस्ने भएकाले आकर्षक अनुदान दिन नसक्दा सलह नियन्त्रणमा केही समस्या देखिएको उहाँले बताउनुभयो ।

असार १३,१४ र १५ मा प्रवेश गरेको सलहले देशका विभिन्न स्थानहरूको कृषि उपजहरूमा क्षति गरेपछि अब कृषि मन्त्रालयले त्यसको विवरण सङ्कलन गर्ने भएको छ । प्रारम्भिक रुपमा मकवानपुरगढीमा मकै, कपिलवस्तुु, प्यूठान, बाग्लुङमा पुर्याएको क्षतिको विवरण लिने काम हुने गर्ने तयारीमा सरकार लागेको छ । मकै तथा धानमा कुन अवस्थामा कस्तो अवस्थामा क्षति गरेको छ त्यसको विवरण खोज्ने कार्यमा लागेको हुमागाईंले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.