कानून कार्यान्वयनमा नचुक्नुस् : प्रहरी महानिरीक्षक - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 20 July 2020

कानून कार्यान्वयनमा नचुक्नुस् : प्रहरी महानिरीक्षक

काठमाडौँ, ५ साउन : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको कार्यान्वयनमा नझुक्न र नचुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल पुलिस क्लबमा आज आयोजित महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्देशन दिनुभएको हो । 

प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उहाँले बताउनुभयो । अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्रहरी सङ्गठनले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशासम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । 

कोरोना भाइरसको सङ्क्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको उहाँले प्रशंसा गर्दै लकडाउन खुलेपछि हुनसक्ने अपराधजन्य घटनाप्रति प्रहरी कर्मचारी थप चनाखो हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी महानिरीक्षकबाट प्राप्त निर्देशन सम्बोधन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको सहभागिता थियो । 

‘लिडार स्पिड गन’ हस्तान्तरण 
यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई आठ थान ‘लिडार स्पिड गन’ प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई विभागका महानिर्देशक गोगनबहादुर हमालले रु ८४ लाख मूल्यबराबरका उक्त गन हस्तान्तरण गर्नुभएको हो । 

सो अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन प्रदान गरेकामा विभागलाई धन्यवाद दिनुभयो । 

विभागका महानिर्देशक हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको बताउनुभयो । समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान, स्मार्ट लाइसेन्स वितरणलगायतका कार्य गरिरहेको जानकारी दिनुभयो । (रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.