लकडाउन डायरी : चाँदिको घेराको खोजीमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 25 July 2020

लकडाउन डायरी : चाँदिको घेराको खोजीमा

- सविता बस्नेत दानी 
आजकाल त फोनको घण्टी, र नोटिफिकेसनको आवाजले पनि झर्को लाग्छ । त्यसैले आजकाल फोन साइलेन्स मोडमा राख्ने गरेकी छिन सम्पदाले। बिहान देखि नै फोन हेरेकि छैन, के हेर्नू छ र ? आजकाल कस्को पो फ‍ोन आउँछ र? पहिला पो स्कुल लाग्दा बिहानभरि फोन म‌ै बित्थ्यो। कहिले स्टाफको, कहिले अभिभावकको। आज सुरक्षा आँउदिन है, भ्यान नपठाउनुहोला। कहिले आज बिराज आउँछ, कहिले आउदैन, फलानो आज मामाघरबाट बाट चढ्छ है। आज मेरो बाबुले घरमा खाना खानै मानेन, पाक्ने बित्तिकै खुवाई दिनु है। आज मेरो नानुलाई रुघा लागेको छ, बेसार पानी खान दिनु है.... यस्तै ... यस्तै । कहिले अभिभावकको गुनासो, कहिले अनुरोध, कहिले घुर्की, सबै सुन्दा सुन्दा उनी अभ्यस्त भैसकेकी थिइन्। 

कहिले काहीँ त छोराछोरीलाई बिहानमा राम्रोसँग खाना खुवाउन पनि पाउदिन थिइन् । उनीहरुको कुरा राम्रोसँग सुन्ने फुर्सद पनि हुदैन थियो, बिचरा के गरुन् मन बाधेर बसेका थिए। आजकाल त फोनले पनि फुर्सद पाको छ, फोनको घण्टी बिरलै बज्छ। अनलाइनमा दिएको होमओर्क गरेर अभिभावकले पठाईको म्यासेजको टिङ्टिङ् नोटिफिकेसन मात्रै बज्छ आजकल, त्यसैले फोन साइलेन्स मोडमै हुन्थ्यो धेरैजसो। तर आज भने फोन हेर्ने बितिक्कै मिसकलमा आँखा गय‍ो, को रहेछ यति बिहानै कल गर्ने, हेरिन्, उनै सुधाको रहेछ। 

सुधा, उनको स्कुलकी शिक्षिका, स्कुल पढ्दाताकाकी साथी पनि। हिजो पनि कुरा भाको थियो उनीसँग। सायद आज पनि त्यहि बिषयको बारेमा कुरा गर्न कल गरेकि थिइन् होली,..।। हेरिरहिन्।।। उनको मिस कल..... के जबाफ दिनु उनीलाई, सम्पदा वाल्ल पर्थिन् ! 

हिजो भन्दै थिइन् "म्याम सार्है गार्‍हो पर्यो के गर्ने होला? हामी त भोक भोकै पो मर्छौ कि के हो! २/२ वटा छोराछोरी, बिरामी बुढि सासू। सरको पनि स्कुलबाट तलब आँको छैन, कसो गरि चलाउने होला म्याम? लौन म्याम केही त गर्नुस्। छोरा छोरी भोक भोकै मर्ने भए, टेन्सनले होला आफुलाई पनि सन्चो छैन, बुढा एउटा कुनामा झोक्राएर बसिरहनु हुन्छ, डिप्रेसनमा जान लागि सक्नु भयो। सासू आमालाई अस्पताल लानु पर्ने, बैकमा भाको अलि अलि पैसा पनि सबै सकियो। ३/४ महिना देखि कतैबाट आम्दानी भाको छैन। लौ न म्याम.." । 

सायद केही व्यवस्था भयो कि भनेर होला उनले कल गरेकी थिइन। के जबाफ दिने उनलाई, कसरी समाधान गरौ उनको यो समस्या। चैत देखि सुक्को आम्दानी छैन, चैतको पहिलो हप्तामा नै स्कुल बन्द भै हाल्यो ८/१० जना अभिभावकहरुले भन्दा अरुले फि बुझाएका थिएनन्। अझै कतिको त पुस, माघ देखिकै फि उठाउन बाकी थियो। कतिले त अब स्कुल बिदा हुन्छ भन्ने अड्कल काटेर होला चैत लागेदेखि नै बच्चा स्कुल पठाउन छोडेका थिए। हतार हतारमा परीक्षा सकेर स्कुल बन्द गर्नु परेको थियो। यसपालि राम्रोसँग कोर्स पनि पूरा गर्न पाइएको थिएन। सधैको बर्षमा चैतको अन्तिम हप्तामा रिजल्ट गर्ने गरि कोर्स लगिन्थ्यो। यसपालि चैत ५ गते भित्रै परीक्षा सकिसक्नु भन्ने सरकारको निर्देशनले गर्दा फागुनको अन्तिम हप्ताबाटै परीक्षा लिनु परेकोले कोर्स कुदाउनु परेको थियो। सब हतारमा, सुरुमा त लागेको थियो, कति दिन होला र छिट्टै खुलिहाल्छ नि। लकडाउन को शुरुआत दिन तिर त लागेको थियो सरकारले बेलैमा लकडाउन गरेको छ, रोग फैलन पाउदैन, त्यसैले सबै छिट्टै ठिक हुन्छ। फेरि छिट्टै स्कुल खुल्ने छ, दैनिक जीवन सुरु भै हाल्छ। 

तर खै आज ४ महिना बित्न थाली सक्यो, अवस्था झन झन जटिल छ । सरकारले हिजो मात्रै लकडाउन खोल्ने त निर्णय गर्यो तर विद्यालय खोल्ने सुरसार छैन। भदौ १ बाट भर्ना गर्न भनेको छ, अझै झण्डै १ महिना जस्तै बाकी छ। कतिपय त गाउँघर तिर गएका छन्, फर्कन्छन् कि फर्कदैनन् होला, कसरी होला यो समस्याबाट पार पाउने, संझदैमा उदेक लागेर आउछ सम्पदालाई। सबै आफ्नैहातमा भएको भए कुरै अर्को हुन्थ्यो। तर के गर्नु, समय भन्दा बलवान कोहि हुदैन रहेछ यहाँ, यस्तै यस्तै कुराहरु खेलिरहन्छ मनमा। आफुलाई सकारात्मक बनाउने कोशिस गर्दा पनि कहिले काहि मन भुटभुटिएको थाहै पाउदिनन् सम्पदा। 

घर, परिवार र छोराछोरीलाई पनि टाइम दिन पाउने, घर नजिकै, धुलो धुवा जाममा पनि फस्न नपर्ने, सोचेर कलेजमा भै रहेको जागिर छोडेर आफुसँग भएको अलिअलि बचत, अनि लोन लिएर आफू जस्तै अरु २ जना साथिहरुसँग मिलेर सम्पदाले साना बाबु नानीहरुलाई पढाउने काम शुरु गरेकी थिइन्। दुखका साथ सबैले रात दिन नभनी खटेका थिए। लगभग बन्द भइसकेको स्कुल लिएर काम शुरु गर्नु आफैमा हिम्मतिलो काम थियो। आफ्ना छ‍ोराछ‍ोरीलाई भन्दा बढि स्कुलका बालबालिकाहरुलाई स्याहारसुसार गरेका थिए उनीहरूले। कसरी राम्रो र सजिलोसँग विद्यार्थीले सिक्न सक्छन, भनेर रातदिन मेहनत गर्थे उनीहरु। आफ्नै सन्तान त्यहि स्कुलमा भए पनि दिनमा एक पटक पनि राम्रोसँग खायो खाएन हेर्न भ्याउदैन थिए। जतिबेला अरु बच्चालाई काखमा लिएर माया गरेको देखेर आफ्नो सन्तानले टुलुटुलु हेर्दा मामु भन्दै आउथे त्यतिबेला मुटु नराम्ररी कुडिन्थ्यो। तैपनि उनिहरुलाई पर राखेर आफुले जिम्मा लिएको सन्तानहरुलाई समाल्थिन् सम्पदा। आखिर के को लागि हो यो सब? उत्तर खोज्दा पनि मन बुझ्ने जवाफ कहिल्यै पाउदिनथिन्। पैसाको लागि मात्र त होइन होला, किन कि पैसाको लागि मात्र भएको भए आज उनी कुनै ठूलो सस्थामा काम गर्न आएको अफर छाडेर, साना बालबालिकको सिँगान पुछेर अवश्य बस्थिन होला। 

जसो तसो गरेर तिनैजनाले तन, मन, धन समय सबै लगाएर स्कुललाई बल्लतल्ल एउटा लेबलमा ल्याएका थिए। बिस्तारै अभिभावकहरुको मन जित्दै थिए। स्कुलमा भएको सुब्यस्था तथा बालमैत्री वातावरणका कारण विद्यार्थीहरु पनि बढ्दै थिए । पहिलेको स्कुल भएको भवन त्यति चित्त बुझ्दो थिएन, त्यसैले रात दिन एक गरेर श्रीपन्चमीको मौकामा उनीहरुले राम्रो ठाउँमा स्कुल पनि सारेका थिए। काम सकिएको थिएन, काम गर्ने मान्छे पाइएको थिएन, जसो तसो काम सकेका थिए। 

राम्रो ठाउँमा आइएको छ, बिस्तारै राम्रो भैहाल्छ नि, भन्ने सोचेर उनीहरुले ऋण काडेरै भए पनि नयाँ भवनलाई सिगांर्न, बालमैत्री बनाउन, कुनै कसर बाकी राखेका थिएनन् । हुन पनि यसपालीको श्रीपन्चमीमा राम्रै सङ्ख्यामा वालवालिकाले आफ्नो सिट रिजर्भ गरेका थिए। कोही श्रीपन्चमी देखि नै आएका थिए, भने धेरै जसो नयाँ शैक्षिकसत्र देखि आउने तरखरमा थिए। तर यो कोरोनाले सबै सपना चकनाचुर पारिदियो। 

थाहा छैन, अब कसरी उठ्ने हो यो दलदलबाट। कसरी तिर्ने हो, स्कुल लिदाको र भवन सार्दाको लोन? कसरी तिर्नु घरभाडा? पुरै तलब दिन नसके नि, कर्मचारीलाई बाँच्न सक्नेगरि जतिसकिन्छ दिनु पर्छ भनेर लाग्दै थिए उनीहरु। असारको बेला छ, सबै तिर कर तिर्ने बेला छ । अडिट, घरवहाल कर, नविकरण कर उफ्फ.........। कहाँबाट ल्याएर दिनु? सोचेर बस्दा राम्रोसँग निद्रा पनि लाग्न छाडेको थियो सम्पदालाई । 

तीनैजना सहयात्रीको श्रीमान सरकारी जागिरे थिए। उहाँहरुको कमाईले छोराछोरी पढाउन र घर खर्च धान्न त मुस्किल मुस्किल परिरहन्थ्यो उनीहरुलाई । यस्तो बेलामा कस्लाई गुहार्ने? सरकारको ताल यस्तो छ, केही बिचारै नगरी बोल्छ, कुनै जिम्मेवारी छैन, यो यो महिनाको फि नलिनु, अनलाइन कक्षा चलाउनु तर पैसा नलिनु । किन होला यस्तो व्यवहार गरेको सरकारले, बेला बेलामा सोचेर टोलाइरहन्छिन् सम्पदा । 

निजि विद्यालय भन्ने बित्तिकै सबैले ‘ए यिनिहरु त नाफामुलक सस्था हो, पहिलाको नाफाबाट चलाउनु पर्छ’ भन्ने गर्छन् । केहि ठूला स्कुलको त केही न केही बचत हुन्छहोला। केही मात्रामा भए पनि सहजै होला, तै पनि उनिहरुको पनि त कति लोन होला। हुन त सुन्नमा आँको छ, ठुला ठुला नाम चलेका विद्यालयहरुले त अभिभावकहरु सँग अनलाइन क्लासको फि स्वरुप राम्रै रकम असुलेका छन् रे। मारमा त सम्पदा जस्ताले चलाएको साना साना विद्यालय पो परेका छन्। उनीहरुको समस्या भनेकै जुन महिना फि उठ्छ त्यहि महिना तलब खाने, आम्दानी र खर्च उस्तै उस्तै । बचतको नाममा बैकमा तोकिएको न्यूनतम रकम बाहेक केहि नभएका। 

यस्तो अबस्थामा कसरी गर्न सँकुला मैले सुधालाई सहयोग? सुधा मात्रै होइन उनी जस्ता धेरै छन् यहाँ। श्रीमान श्रीमती दुबै निजि विद्यालयमा जागिर खाएर आफ्नो जिबिका चलाउने । के भाको होला उनीहरुको हालत अहिले? कसरी चलाएका होलान् आफ्नो परिवार? अनि उनी। सम्पदा र उनका १२ जना साथि मात्रै होइन यहाँ लाखौ छन्, उनीहरु जस्ता सानो लगानीमा निजि विद्यालय चलाएर बसेका। अझ विशेष गरि उनीहरु जस्तै महिला, स्वाबलम्वी र आत्मनिर्भर हुन आफ्नो भएका गरगहना धितो राखेर, बेचबिखन गरेर बैँक तथा आफन्तबाट ऋण काडेर प्रिस्कुल या मन्टेश्वरी संचालन गरेर बसेकाहरु। 

हातमा फोन लिएर सम्पदा टोलाई रहन्छिन्, फेरि फोनको स्किनमा देखिन्छ “सुधा कलिङ”। उनी फोन उठाँउछिन् र भन्छिन् “सुधा म्याम, मलाई १/२ दिन टाइम दिनुस् न है, म व्यवस्था गर्दैछु”। सुधासँग पनि कुनै विकल्प थिएन, हस् भनेर फोन राखिन्। सम्पदा हातमा लगाएको बिहेताका बनाएको औँठि एकटकले हेरी रहन्छिन्, कालो बादलभित्रको चाँदीको घेराको खोजीमा ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.