पहिरोले बगायो रुप्सेको सौन्दर्य - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 25 July 2020

पहिरोले बगायो रुप्सेको सौन्दर्य

–ध्रुवसागर शर्मा
गलेश्वर, १० साउन : मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त आकर्षकस्थल मानिने रुप्से झरनाको सुन्दरतामा अब भने पर्यटक रमाउन नपाउने भएका छन् । 

गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनाखण्ड बिगारिदिएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा रमाउने योजना बनाएका आन्तरिक तथा बाह्य पर्यटकले अब रुप्सेको पुरानो सौन्दर्य देख्न नपाउने भएका छन् । 

बाढीले झरनाको खण्ड बिगारको मात्र होइन एक होटेल, पुल र स्काभेटरसमेत बगाएको छ । झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेसिन, बस र पुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय हस्तबहादुर पुनका अनुसार अब रुप्से झरना पुरानै स्वरुपमा फर्काउन निकै श्रम र लगानी आवश्यक छ । 

विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएको थियो । अहिले प्रचलनमा नरहे पनि रुप्से झरनाको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बुढापाका बताउँछन् । साविकको दाना गाविसले रुप्से झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग र भ्युटावर निर्माण गरेको थियो । मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्री रुप्सेको मोहक सौन्दर्य देखेर लठ्ठिने गर्दथे ।

“रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन देश विदेशबाट आएका मानिसको समेत भीड हुने गर्दथ्यो”, दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भन्नुभयो, “पुल नजिकै गाडीको भीड हुन्थ्यो, झरनाको दायाँ र बायाँको भागमा मानिस रमाउँदै तस्वीर लिन तछाडमछाड गर्दथे, अब त्यो सबै एकादेशको कथा जस्तै बन्यो ।” विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गर्दथ्यो ।

रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्युटावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको थियो । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्यरुपमा बढेको थियो । ती पर्यटक रुप्से झरना देखेर लोभिने गरेका रुप्सेमा रेष्टुराँ सञ्चालन गरेका सुवर्ण केसीले बताउनुभयो ।

स्थानीयले झरनामा कान्छा भुमे देवताको वासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा बोको बलि चढाउने गर्छन् । झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको स्थानीयले बताएका थिए । 

बगरफाँट गाउँ जोखिममा 
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट म्याग्दी नदीको कटानबाट जोगाउन म्याग्दी नदीको किनारामा लगाइएको ग्याबिन पर्खाल बाढीले बगाएपछि बगरफाँट गाउँ पुनःजोखिममा परेको छ । बिहीबार राति म्याग्दी नदीमा आएको बाढीले बस्ती संरक्षणका लागि नदी किनारामा लगाएका ४७० थान जालीमध्ये ३८ थान जाली बाढीले बगाएको छ । 

नदी नियन्त्रणका लागि लगाएको पर्खालनै बगेपछि नदीको प्रवाह बस्तीतिर सोझिएको र बगरफाँटका खहरेखोला, पुल क्षेत्र, पलाँसेलगायतका क्षेत्र उच्च जोखिममा परेको म्याग्दी खोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । बाढीले गाउँ जोखिममा पर्नुका साथै ३८ थान जाली बगाउँदा चार लाख ५० हजारभन्दा बढी क्षति भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

गत साल रुपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु ५० लाखको लागतमा बगरफाँटको दूधेखोलादेखि बाङ्गेघरासम्म करिब दुई किलोमिटर क्षेत्रमा ग्याबिन जाली भरेर तटबन्ध गर्ने योजनाअनुसार रातोढुङ्गादेखि झोलुङ्गे पुलसम्म ४७० थान ग्याबिन जाली भरेर पर्खाल लगाइएको थियो ।

अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा नदी कटानबाट अति प्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४७० थान जाली भरिएकोमा गत वर्ष पनि बाढीले १०० थानभन्दा बढी जाली बगाएर क्षति पु¥याएको थियो । विसं २०५७ मा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तररुपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरुमा सामान्य ग्याबिन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन । 

करिब २०० घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयले बताएका छन् । अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्यवस्तु (ढुङ्गा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो ।

नदीले बगरफाँटको करिब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन् । नदी कटानका कारण वर्षेनी त्रासमा रहने बगरफाँटवासीलाई तटबन्धले केही राहत मिलेको र गाउँको संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासी जीतबहादुर कार्कीले बताउनुभयो । बगरफाँट सदरमुकाम बेनीबजारसँगै जोडिएको कृषिका लागि उर्बर फाँट भएको गाउँ हो ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.