युवाको नेपाली राजनीतिमा खाँचो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 30 July 2020

युवाको नेपाली राजनीतिमा खाँचो

रीना भट्ट 
गणतन्त्र पस्चात अधिकांश नेपाली युवा वर्गलाई राजनीतिमा चाख एवं रूचि अत्यधिक देखिएको छ। तर युवा वर्ग राजनीतिमा प्रत्यक्षरूपमा भाग लिन पाइरहेका छैनन्। नेपालमा मात्र होइन अधिकांश तेस्रो बिश्वका मुलुकहरूमा युवा बर्गले राजनीतिमा प्रत्यक्ष भाग लिन पाइरहेका छैनन्। यी राष्ट्रहरूमा युवाको नाममा राजनीति त गरिन्छ तर जब युवाहरुलाई अबसर दिने समय आउँछ त्यो बेला बृद्ध नेतृत्वले यहाँ अबसर दिन हिचकिचाहट गरेको पाइन्छ। यी राष्ट्रहरूका न कुनै पार्टी, न कुनै नेता, न कुनै संगठन इत्यादिले युवालाई चान्स दिएको देखिँदैन । 

नेपालमा पनि यही अबस्था ब्याप्त छ। युवा कै नाममा राजनीति बिभिन्न राजनीतिक दलले गरेको हुन्छ तर जब पद दिने बेला हुन्छ अथवा राजनीतिमा प्रबेश गर्न चुनावको समयमा टिकट दिने बेला बर्तमान नेताको दृष्टिले साधारण नेपाली नागरिकको छोरा छोरीलाई युवा देख्दैन, देख्छत त सिर्फ कुनै मन्त्री, सांसद र बरिष्ठ नेतृत्व र राजनीतिक घरानियाँका छोरा छोरी मात्र युवा उनीहरूको आखांले ठम्याउछ। नेपाली राजनीतिमा राजनीतिक परिबारको योगदानलाई मध्यनजर राख्दै एक दुई सिट दिन सकिन्छ तर अधिकांश सिटहरु नै राजनीतिज्ञको परिवार र उनका नजिकका ब्यक्ति, युवाले प्राप्त गरेको अबस्थामा साधारण नेपाली जनताबाट आएका युवाले कहिले प्राप्त गर्ने? भन्ने प्रश्न आइरहेको छ। हरेक पटक चुनावमा युवाहरुले बढि भन्दा बढि टिकट पाउनै पर्छ तर पाइरहेका छैनन्। सांसद र मन्त्रीका परिवारका युवाले साधारण नेपाली जनताको परिबारबाट आएका युवाले जस्तो नेपाली जनताको आबस्यकता इच्छा र आकाङ्क्षालाई आत्मसात गरेका हुदैनन । तसर्थ नेपाली जनताको इच्छा र समस्यालाई बुझेका युवा राजनीतिज्ञको खाचो अब नेपाल र नेपालीले महसुस गरिसकेका छन्।. आजसम्म बिश्व इतिहास हेर्ने हो भने राजनीतिमा आउने हरेक मानिसलाई युवा भन्ने गरिन्छ। तर युवा ब्यक्ती होइन देश युवा हो। ब्यक्तिबुढो हुन्छ मरेर जान्छ तर देश कहिले बुढो हुदैन देशको राजनीति पनि कहिले बुढो नहुने हुदा बास्तबमा राजनीतिमा युवा भनेको देश नै हो तर साधारण रूपमा राजनीतिमा प्रबेशको लागि उमेर निस्चित गरिएको हुन्छ तर राजनीतिबाट अबकाशको उमेर नतोकेको हुँदा नेतृत्व सबैलाई युवा भन्ने परिपाटी बिश्व भरि नै ब्याप्त छ। तर बास्तबमा युवा बढिमा ५० बर्ष सम्मकोलाई भन्ने गरिन्छ। नेपालमा अधिकांश दक्ष युवाको राजनीतिमा आकर्षण किन देखिँदैन भन्ने पनि प्रश्न बारम्बार आउने गरेको छ। 

राजनीतिप्रति मानिसको धारणामा जबसम्म परिवर्तन आउदैन तबसम्म दक्ष युवा राजनीतिबाट टाढै बसेको देखिएको छ। परिवारको सदस्य राजनीतिमा भएका युवा सजिलै राजनीतिमा प्रवेश गर्न सक्छन् तर गैर राजनीतिक परिबारको युवा त्यसमा पनि युवा महिलालाई त परिबार नै उसको लागि सर्वप्रथम बाधक बन्ने गर्छ ।राजनीति भनेको गुण्डागर्दी गर्ने, मवालीहरू प्रबेश गर्ने क्षेत्र हो, राजनीतिबाट पैसा कमाइँदैन, राजनीतिमा बदनाम हुन्छ, नराम्रो मानिससंग संगत हुन्छ, चरित्र हत्या गरिन्छ, इज्जत जान्छ, नातेदारले रुचाउदैनन् आदि इत्यादि प्रश्नले गर्दा आज सक्ष्यम युवाहरु परिवार कै रोकटोकको कारण राजनीतिमा आऊन रुचाउदैनन् र रूचाएकालाई पनि बाध्य भएर आउन दिइरहेको छैन। किनभने बर्तमान राजनीतिमा पनि यस्तै बिकृती र बिसंगति देखिदैछ। राजनीतिमा आदर्शता चाहिन्छ र नेपाली जनताको माग पनि आदर्श नेतृत्व र राजनीति हो । यदि नेपाली परिबारले नै राम्रो मान्छेलाई राजनीतिमा प्रबेश गर्न रोक्छ भने कसरी हाम्रो राजनीति राम्रो र आदर्श हुन्छ? भन्ने प्रश्न सृजना  एकातिर हुन्छ भने अर्का तिर एउटा PHD पास ब्यक्तिले दश कक्षा फेललाई भोट दिएर आफ्नो भबिष्य सुम्पिन्छ भने त्यहाँ दोष राजनीति को होइन PHD पास गर्ने विद्वानको हो भन्ने कुरा हामी सबैले बुझ्नुपर्ने हून्छ । तसर्थ प्रत्येक नेपाली युवालाई राजनीतिमा प्रबेशको लागि घर घरबाट प्रोत्साहन गर्नै पर्छ। 

नेपाली युवाले पटक पटक देशको प्रमुख नेतृत्वमा युवाको प्रतिनिधित्वको माग भै रहेको अबस्थामा आजका नेतृत्व बर्गले सजिलोसंग युवालाई मौका दिदैनन्। तसर्थ अब युवाले राजनीतिमा ठाउँ देउ भनेर कराउन छाडौं। अब नेपाली युवाले आफ्नो क्षमतामा यसरी बृद्धि गरौं कि ती नेतृत्व र राजनीति ब्यबस्था युवालाई मौका दिन आफै बाध्य हुनेछन्। जुन दिन युवाहरु वृद्ध शासकको मजबुरी बन्ने छन् त्यो दिन युवाहरुलाई ती वृद्ध नेतृत्वले नाकको चालले ठाउँ अवश्य दिने छन्। जुन दिन ती नेताले युवाले मेरो कुर्सी छिन्ने क्षमता राख्छ या युवा कुनै राजनीतिक पृष्ठभूमि बिना सक्षम र दक्ष छ र शासन व्यवस्थामा जानकारी राख्ने क्षमता र हैसियत राख्छ भन्ने थाहा हुन्छ त्यो दिन यी नेतृत्वले युवालाई प्रतिस्पर्धी होइन सहकर्मी बनाउन खोज्छ। त्यो बेला उसले युवालाई पद दिन्छ, स्पेस दिन्छ, टिकट दिन्छ। चुनावमार्फत सांसद बन्न योग्य र काबिलियत बनौं युवा । आज युवाहरूले सबै क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेकै छन्। क्षमताबान इन्जिनियर, डाक्टर, बैङ्कर्स, प्राध्यापक, वकिल, प्रशासक, ब्यापारी छन्। तर त्यहि क्षमताबान युवा राजनीतिकर्मी किन छैन? भन्ने प्रश्न प्रत्येक नेपाली नागरिकले नेतृत्वसंग मात्र होइन आफै संग पनि गर्नुपर्छ ।

तसर्थ अब प्रत्येक युवाले नेताको झोला बोल्ने कार्यकर्ता भन्दा माथि उठेर आफ्नो ताकत र क्षमतालाई चिनेर अगाडि आउनै पर्छ । नेपाली युवालाई कसैको सपोर्ट चाहिन्दैन, कसैले साथ दिए पनि नदिए पनि "म राजनीतिमा क्षमता बान बनेर सबै हासिल गर्न सक्छु" भनेर अगाडि आउनु पर्छ। हरेक युवालाई आफ्नो क्षमताको पहिचान हुदै आफूप्रति भरोसा हुनुपर्छ। जुन दिन बिना सहारा नेपाली युवा उभिन सक्छ त्यो दिन यो देशको राजनीति पनि आदर्शबादी बन्छ र नेपाल पनि बदलिएको हुनेछ।


(नाेट : लेखक भट्ट राजनीति शास्त्र पाटन संयुक्त क्याम्पसमा अध्यापन गर्नुहुन्छ।)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.