खुमलटारमा दाहालको प्रष्टीकरण– ‘अर्ली महाधिवेशन प्रस्ताव मान्य हुँदैन’ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 19 July 2020

खुमलटारमा दाहालको प्रष्टीकरण– ‘अर्ली महाधिवेशन प्रस्ताव मान्य हुँदैन’

काठमाडौँ, ४ साउन :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पार्नुभएकाे छ । उहाँले ओलीले गर्नुभएकाे ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा स्पष्ट पार्नुभयाे । 

‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन। सहमति बिनै अर्ली महाधिवेशनको कार्ड फालियो, यो उपयुक्त छैन’, प्रचण्डले बैठकमा ब्रिफिङ गर्नुभयाे, ‘यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ उहाँले मंसिरमा महाधिवेशन गर्ने भनेर जुन प्रचारबाजी गरियो त्यो प्रपोगाण्डा ठीक नभएको पनि बताउनुभएकाे थियाे । शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बाहिरिएको थियो । यसको वरिष्ठ नेता माधव कुमार नेपालले चर्को आलोचना गर्नुभएकाे थियाे । 

ती सदस्यका अनुसार प्रचण्डले बैठकमा ब्रिफिङ गर्नुभयाे, ‘बाहिर सहमति भयो भनेर हल्ला गरियो, हामी त्यसमा सहमत छैनौं । राष्ट्रपतिकहाँ गएको पनि जुन ढंगले हल्ला गरियो, त्यो कुनै पुर्वनिर्धारित कार्यक्रम थिएन । अप्रत्याशित रुपमा बोलाएर गएको हुँ । पार्टी कमिटीले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने हो । त्यसरी नै जानुपर्छ । सामूहिक रुपमा कमिटीको निर्णय अनुसार अगाडि बढ्ने हो । बाहिर आएका हल्ला मात्रै हुन् ।’

खुमलटारमा वरिष्ठ नेताद्वय नेपाल र खनाल, प्रवक्ता श्रेष्ठ हुनुहुन्थ्याे । प्रचण्डको सचिवालयले शनिबार राति नै कुनै सहमति नभएको बताएको थियो । यसअघि आफ्नो गठबन्धनमा रहेका सचिवालयका अरु नेताहरुसँग कुनै परामर्श नगरी ओलीसँग मिलेर आएको भन्दै असन्तुष्ट बनेका सचिवालयका चार नेतासहित स्थायी कमिटीका केही नेतालाई खुमलटार बोलाएर प्रचण्डले आस्वस्त पार्ने कोशिस गर्नुभएकाे हाे । आइतबार नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्टलगायत र दाहाल निकट स्थायी कमिटी सदस्य बर्षमान पुन, पम्फा भुसाल र देव गुरुङलगायत खुमलटार भेलामा सहभागी हुनुहुन्थ्याे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.