मेचीनगरमा कोरोनाको ‘मासटेस्टिङ’ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

मेचीनगरमा कोरोनाको ‘मासटेस्टिङ’

झापा, १२ साउन : समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो । पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिनुभयो । 

गत शुक्रबार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोभिड–१९ को सङ्कमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का व्याप्त छ । आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिनुभयो ।

हालसम्म मेचीनगरमा ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ भने ४६ जना निको भएर आइसकेको र २४ जना अझैसम्म विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक बरालले ‘मास टेस्टिङ’लाई आगामी दिनमा जारी राखिने बताउनुभयो । अर्को चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गरिने भएको छ । यसमा लाग्ने सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोरेको जनाएको छ ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.