नेकपा विवाद जटिल माेडमा, विवाद समाधान गर्न प्रधानमन्त्री ओली इच्छुक नरहेकाे खुमलटारकाे आराेप - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

नेकपा विवाद जटिल माेडमा, विवाद समाधान गर्न प्रधानमन्त्री ओली इच्छुक नरहेकाे खुमलटारकाे आराेप

काठमाडाैँ,  १६ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकाे  विवाद जटिल बन्दै गएकाे छ । गत साउन १३ गते नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बसाएपछि  प्रचण्ड–ओली टकराव बढ्नुकासाथै विवाद निष्कर्षविहिन भएकाे छ । 

पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रस्तुत गरेका ६ बुँदे प्रस्तावपछि निकाश निस्किने अपेक्षा धेरैकाे थियाे तर प्रचण्ड–माधवकुमार नेपाल समूहका नेताहरुले गाैतमले प्रस्तुत गर्नुभएकाे प्रस्ताव प्रधानमन्त्री ओलीले यस अघि नै मान्ने सहमति भएर कार्यन्वयन नभएपछि विवाद उत्पन्न भएकाे बताएका छन् ।

साउन १३ गतेकाे बैठकलाई ओली समूहले गुटको बैठक भनेको छ तर सोही बैठकले पार्टीको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री अ‍ोलीसँग छलफल गर्न जिम्मेवारी दिएको छ । पार्टीले गरेको निर्णयअनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीसँग छलफल गर्न प्रयास गरिरहेकाे तर सफल नभइरहेकाे प्रचण्ड निकट नेताहरुले बताएका छन् । 

अध्यक्ष प्रचण्डले छलफलका लागि पटक–पटक खबर पठाए पनि प्रधानमन्त्री ओलीले इच्छा नदेखाएपछि हिजाे पार्टीका महासचिव विष्णु पौडेललाई बोलाएर पनि यो विषयमा छलफल गर्नुभएकाे जनाइएकाे छ । खुमलटार स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले महासचिव पौडेललाई पार्टीमा देखिएका विवादलाई चाँडै समाधान गर्नुपर्ने जनाउँदै यो समस्या तत्काल समाधान नभए विष्फोट हुनसक्ने बताउनुभएकाे छ । 

महासचिव पौडेलसँगको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीमा प्रधानमन्त्री ओलीका कारण विवाद बढेको भन्दै समस्या समाधान गर्न प्रधानमन्त्री ओलीले पहल लिनुपर्ने बताउनुभएकाे छ । अध्यक्ष प्रचण्डले समाधान प्रधानमन्त्री ओलीले नै गर्नुपर्ने भन्दै छलफलको वातावरण तयार गर्न महासचिव पौडेललाई आग्रह गर्नुभएकाे छ ।

वार्ताका लागि वतावरण बनाउने सन्देश दिएर महासचिव पौडेल फर्केपनि हालसम्म प्रधानमन्त्री ओलीले वार्ताका लागि कुनै संकेत दिनुभएकाे छैन, बरु आफ्ना गुटका नेताहरुसँग बालुवाटारमा दैनिक जस्तो छलफल गरिरहनुभएकाे छ । प्रचण्ड–माधव गुटलाई कसरी गलाउन सकिन्छ भन्ने रणनीति तयार नभएसम्म उहाँ प्रचण्डसँग छलफल गर्न तयार नभएकाे बुझिएकाे छ ।

यता, अध्यक्ष प्रचण्ड पनि आफ्ना गुटका नेताहरुसँग दिनदिनै खुमलटारमा छलफल गरिरहनुभएकाे छ । उहाँ आफ्नो गुटबाट बिच्किएका नेताहरुलाई मिलाउने प्रयास गरिरहनुभएकाे छ । असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट राजिनामा दिने कुरा उठेपछि विवाद उत्पन्न भएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.