हैसियत : मधू भण्डारी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 23 July 2020

हैसियत : मधू भण्डारी

लघुकथा: 
मधू भण्डारी 

"कहाँ बस्ने यार एउटा पनि खाली बेन्च छैन ।"
कलेजको पहिलो दिन कक्षामा छिर्दै इशाले प्रभालाई भनी । 
"उ त्यहाँ एउटा केटा मात्रै रैछ त्यहीं बसौं न ।" प्रभाको जवाफ ।
"छि हेर्दै पाखे जस्तो छ । तर बस्नै पर्यो अन्त ठाउँ पनि त छैन ।" उनिहरु कुमार भएको बेन्चमा उस्लाई छोईएला कि जसरी बसे । कुमारले हाँसेर गरेको स्वागतमा ओठ फर्काएर ब्यङ्ग्य गरि इशाले। 
"ह्या छोड्दे न भोलिदेखी छिट्टै आएर अलि टिप्टप केटाहरु सङ्ग बसौंला क्या ।" प्रभाले भनी ।

दिन महिना बित्दै गयो । कुमारले धेरै प्रयास गर्यो उनिहरु सङ्ग मित्रता गर्न । तर उनिहरुले उस्लाई पाखे, गँवार भनेर बोल्न पनि चाहादैन थिए । कुमार पनि अब आफू जस्तै गाउँघरबाट आएका साथिहरु सङ्गै घुलमिल हुन र आफ्नो पढाइमा ध्यान दिन थाल्यो। निकै मेहेनती उसले पहिलो बर्ष नै कक्षामा सबैलाई उछिनेर गुरुहरुको स्याबासी पायो। 

"अनुहार न सनुहार जाबो कलेज टप गर्दैमा के के नै पाए जस्तो हेर्न त्यो पाखेको फुर्ती ।" प्रभा र इशा उस्लाई व्यंग्य गरिरहन्थे । पहिलो बर्ष जेन्तेन पास भएका उनिहरुलाई जति पछि उति स्वतन्त्रताको हावाले उडाँउदै लग्यो । गुरुहरुले सम्झाउने बुझाउने नगरेका पनि होइनन् तर वास्तै गर्दैनथे । 

"हाम्रो बाबाको त्यत्रो सम्पती छ । मरिमेटेर पढेर जागिर खानु जरुरी नै छैन नि" भनेर कहिले फिल्म हेर्न त कहिले घुम्न गैरहन्थे । कुमारको संगत गर उसङ्ग सिक भन्दा त्यो पाखे सङ्ग हाम्रो हैसियत मिल्दैन भनेर खिसी गर्थे । कुमार फिस्स हाँसेर टारिदिन्थ्यो। समय बित्दै गयो । कुमारले राम्रो अंक ल्याएर डिग्री हासिल गर्यो भने प्रभा र इशाले बिचबाटै कलेज छोडे ।नेपालको शिक्षा पश्चात् कुमार बिदेश गएर पि.एच.डि. सकेर आयो र देशकै ठूलो बिश्वबिद्धालयमा प्राध्यापक भयो । प्रभा त बिहे गरेर डिपेन्डेन्ट्मा अस्ट्रेलिया गएको धेरै भयो । इशालाई भने उस्का बाबाले एउटा लमिलाई भनेर आफ्नो हैसियत मिल्ने मान्छे सङ्ग इशाको बिहेको कुरा चलाउन लगाए । ईश्वरको मर्जी पढेलेखेको बिद्वान भन्दै लमिले उनै कुमार को कुरा चलाए । "मान्छे हिरा हो हिरा । त्यत्रो ठूलो कलेजमा प्रोफेसर छन् । बानी ब्यहोरा सार्है राम्रो । हाम्री इशालाई यो भन्दा गतिलो सम्बन्ध आउँदैन हजुर ।"

"ठिकै छ नि त बोलाउनुस् न त हामी पनि भेटघाट गरौं ।" इशाको बाबा उत्सुक थिए कुमारलाई भेट्न । 

लमि कुमारलाई लिएर इशाको घर गए । बाबा सङ्ग औपचारिक छलफल गरिसकेपछी लमिले इशालाई बोलाउन लगाए । जब हातमा चिया बोकेर आएकी इशाको कुमार सङ्ग आँखा जुध्छ मुस्किलले सम्हाल्छे आफुलाई अनि भन्छे "बाबा यो मान्छेसङ्ग बिहे गर्दिन म । यो पाखे सङ्ग हाम्रो हैसियत मिल्दैन ।"

यो केटिको घमण्ड त अझै उत्तिकै रैछ भन्ने बुझेर कुमार ले भन्यो "ठिक भन्नुभो उहाँले । जाबो बार्ह कक्षा पनि पास नगरेकी, बाबुको सम्पत्तिमाथी यत्रो घमण्ड भएकी, गाउँबाट आएका सोझासिदा साथिभाईलाई मान्छे नगन्ने उहाँ सङ्ग मेरो पनि हैसियत मिल्दैन ।" यति भनेर कुमार आफ्नो बाटो लाग्यो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.