लकडाउन डायरी-२ : मैले अनलाइन क्लास लिएको अर्थै छैन-विनोद पोख्रेल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 20 July 2020

लकडाउन डायरी-२ : मैले अनलाइन क्लास लिएको अर्थै छैन-विनोद पोख्रेल

विनोद पोख्रेल
मैले अनलाइन क्लास लिएको अर्थै छैन । दिनको एक पिरियड, त्यो पनि कतिबेला कुन समयमा हुने हो थाहा छैन। एक पिरियडभन्दा बढी पढाई भए त भुकम्प नै जाला भनेजस्तो हुने। कतिबेला पढाई हुने हो त्यो त केही समय अघि सुचना आउँछ। त्यही अनुसार डाटा लिनुपर्छ, ईन्टरनेट छैन। एक घन्टाको पढाई भनिएपनी लगभग ४५ मिनेट पढाई हुन्छ, बाँकी समय त हाजिर अनि गफगाफ । कमसेकम हाजिर गर्नकै लागि भएपनी अनलाइन क्लास त लिनै पर्यो।

अनलाइन क्लासमा पनि हाजिरी लिने केही हदसम्म राम्रो हो तर त्यही हाजिरकै भरमा विद्यार्थीको मुल्यांकन गर्नु कत्तिको उचित होला ? बिचरा प्रतिभाशाली विद्यार्थीहरु पनि डिप्रेशनमा जालान जस्तो गर्छन, आफुले प्रदर्शन गरेअनुसारको मुल्यांकन नहुँदा। अनलाइन क्लासका नाममा कतिपय शिक्षकले गृहकार्य दिने चलन छ। अनलाइन क्लास त बल्लबल्ल डाटा खर्च गरेर लिनुपरेको छ, गृहकार्य चाहिँ कसरी गर्नु ? नगरम् भन्दा त्यसैको आधारमा मुल्यांकन पो हुने हो कि ! यस्ता समस्याहरू विधार्थीमा प्रशस्त भेटिन्छन् ।

ईन्टरनेटको पहुँच, बिजुलीको गुणस्तरीयता र आवश्यक प्रविधिको अवाभ हुँदाहुँदै पनि देखावटी रुपमा विश्वविद्यालय, क्याम्पसहरुले अनलाइन क्लास सुरु गरेका छन् । ल्यापटप वा कम्प्युटर भएपनी बिजुली कुनबेला जान्छ कुनबेला आउँछ थाहा हुँदैन । गाउँगाउँमा भएका विद्यार्थीहरुलाई समेट्न झन् ठुलाे चुनौती छ। मोबाईलमा डाटाको त कुरै छाडौँ, दुर्गम भेगमा राम्रोसँग नेटवर्क समेत टिप्दैन। ईन्टरनेटको पहुँच भएका विद्यार्थीहरु अनलाइन क्लास लिँदालिँदै लाइन गयो, डाटाबाट क्लास लिँदै गर्दा अचानक पानी पर्यो र डाटाले काम गर्न छाड्याे, अब गर्ने के ? बल्लबल्ल एक घन्टाको डाटा प्याक लिएको, त्यो पनि नचलाइकनै सकिने भयो। कमसेकम हाजिर गर्नकै लागि भएपनी क्लास Join त गर्नैपर्यो तर दु:खको कुरा जति कोसिस गर्दा पनि नेट चलेन वा लाइन आएन, त्यो दिनको हाजिर छुट्याे।

क्लासमा पढाएको जतिसुकै राम्रोसँग किन नबुझुन्, यदि त्यो दिनको हाजिर भएन भने बुझेपनी नबुझेझैँ लाग्छ । केही विद्यार्थीहरु हाजिर गर्नकै लागि क्लास सकिनुभन्दा १०/१५ मिनेटअगाडि क्लास join गर्छन् । यो कसैको रहर हो त कसैको बाध्यता । घन्टाभरी क्लास लिएका विद्यार्थीहरुले पढाएको नबुझ्दा बेकारमा डाटा मात्र खर्च भयो भन्ने पश्चाताप हुन्छ। पश्चाताप भएर मात्र के गर्नु, डाटा खर्च भैसक्यो। १२ बजेबाट क्लास छ, त्यही समयमा आवश्यक काम पर्यो, अब बाटोमा हिँड्दै पढ्नुपर्नेछ। मोबाइलमा हेर्ने कि बाटोमा ? मोबाईलमा नहेर्दा सुनेकै भरमा मात्र बुझिँदैन, मोबाईलमा हेर्दै हिँड्दा कतै ठेस लागेर लडिने पो होकि ? यस्ता कुरा सुन्दा हाँसो उठ्छ तर यी सबै कुरा अधिकांश विद्यार्थीहरुमा लागू हुने कुरा हुन् ।

जहाँ जस्तोसुकै ठाउँमा पनि बसेर अनलाइन क्लास लिनुपर्ने हुनाले विद्यार्थीको ध्यानाकर्षण हुँदैन । उता शिक्षकहरु पनि घरमै बसेर पढाउने हुनाले बिचबिचमा पारिवारिक झमेला पनि सुनिन्छ , यता विद्यार्थीहरु खिल्ली उडाउन सुरु हुन्छन् । कमसेकम विश्वविद्यालयले निर्देशिका तयार पारेर अनलाइन क्लास सुरु गरिएको भए उचित मानिन्थ्यो तर यहाँ शिक्षकको इच्छाअनुरुप क्लास संचालन गरिएको छ । १२ बजे हुने भनिएको क्लास शिक्षक व्यस्त हुनुपर्ने भएकाले ३ बजेलाई सर्यो, त्यतिबेला शिक्षकको फुर्सद हुन्छ रे। अनि विद्यार्थीको चाहिँ केही कामै हुँदैन ? गिद्दले सिनो कुरेर बसेजस्तो शिक्षक कतिबेला आउछन् भनेर कुरेर बस्नु ? शिक्षकको मात्र हैन, विद्यार्थीको पनि अमुल्य समयलाई मध्यनजर गर्नुपर्छ । विद्यार्थी जिवनमा सेकेन्ड सेकेन्डको महत्व हुन्छ भनेर पढाउने शिक्षकले अहिले घन्टाको महत्व बिर्सेका छन् ।

विश्वविद्यालयको कक्षाकोठामा पढाउँदा त बुझाउन नसक्ने शिक्षकले अनलाइन क्लासमा विद्यार्थीलाई कसरी बुझाउलान् ? एक दुई जनाले नबुझे त विद्यार्थीको कमजोरी मान्न सकिन्थ्यो, अधिकांश विद्यार्थीलाई साेध्दा अँहँ पटक्क मरे बुझेको छैन भन्छन् । त्यसैले यो अनलाइन क्लास विद्यार्थीको लागि समयको बर्बादी अनि शिक्षकको लागि सजिलो पारिश्रमिकको बाहना बनेको छ। केही विद्यार्थीहरु भन्छन् ," अनलाइन क्लास त गराउनुपर्छ, कोर्स त सक्नुपर्यो नि ।" तर कोर्स सक्दै गर्दा आफ्नो के के सकिने हो त्यो पनि ख्याल गर्नुहोला। अब समावेशी अनलाइन क्लासको सुरुवात गरौं र अनलाइन क्लासलाई फलदायक बनाऔँ, अर्थहिन हैन।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.