चित्लाङको आकर्षण सम्पदाः प्राचीन मार्गको स्तरोन्नति गरिने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

चित्लाङको आकर्षण सम्पदाः प्राचीन मार्गको स्तरोन्नति गरिने

–रिपेश दाहाल 
वाग्मती, १२ साउन : नेपालको प्राचीन मार्गको रुपमा रहेको भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नति गर्ने भएको छ । 

पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाले भरिपूर्ण चित्लाङलाई जोड्ने भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नति गर्ने भएको हो । 

त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको थियो । साविकको चित्लाङ गाउँ हाल थाहा नगरपालिका–९ र १० मा रहेको छ । संस्कृति र इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको चित्लाङको नाम पहिले चित्रापुर थियो । पछि चैत्य जाने बाटो भएकाले यसको नाम चैतलोङ रहन गएको थियो । पछि अपभ्रंश भएर यसको चित्लाङ रहन गएको स्थानीयवासी बताउँछन् ।

चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत क्षेत्र रहेको छ । नेपालका धेरै शासन र शासकहरूको साक्षी पनि हो, चित्लाङ । त्यसैले त चित्लाङलाई लिच्छवी कालदेखिको प्रमाण मानिन्छ । २३ सय वर्ष पुरानो यस गाउँमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा रहेका छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने मानिस चन्द्रागिरि डाँडो पार भएर चित्लाङ हुँदै जाने गर्थे । सर्वसाधारण मात्र नभई मल्लकालीन राजा र राणाहरू पनि तराई आउ–जाउ गर्दा चित्लाङकै बाटोबाट ओहोर–दोहोर गर्थे । 

आउजाउ गर्दा रात परेपछि उनीहरू चित्लाङमा नै रात बिताउने गरेको पनि स्थानीयबासी बताउँछन् । राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएको इतिहासकारहरुको भनाइ छ । अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले शिकार खेल्न जाँदा निर्माण गरेको पाहुना घर र दरबारहरूको भग्नावशेष पनि ती क्षेत्रमा रहेका छन् ।

भारतका सम्राट अशोक यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङको चित्रापुर नगरको चिलङगा चैत्य निर्माण गरेका थिए, जुन चैत्य हाल संरक्षणविहीन अवस्थामा रहेको छ । अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर, तलेजु भवानी मन्दिर र विभिन्न शिलालेखका कारण इतिहासका अध्ययनकर्ता पनि चित्लाङ पुग्ने गर्छन् । 

त्रिभुवन राजपथ सञ्चालनमा आएपछि चित्लाङ सुनसान बनेको थियो । यसले गर्दा लामो समय एकान्तबासमा बसेको बस्ती जस्तो हुन पुगेको चित्लाङको प्राचीन मार्गको स्तरोन्नति गरिने भएको छ । चित्लाङको प्राचीन मार्गको स्तरोन्नति गर्ने सम्बन्धमा वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आज यहाँ छलफल र अन्तक्र्रिया भएको छ । 

सो अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्राचीन नेपालको इतिहासमा विभिन्न वंंश र ऋषिमुनिहरुले देशभरको यात्रा गर्नुपर्दा यही मार्गको प्रयोग गरेको इतिहास रहेको बताउनुभयो । चित्लाङको ऐतिहासिक पक्षको संरक्षण गर्दै प्राचीन मार्गको फराकिलो र पक्की गर्न आवश्यक रहेको बताउँदै उहाँले ऐतिहासिक चित्लाङ सडकको स्तरोन्नति गर्न तीनै तहको सरकारको समन्वयमा काम अगाडि बढाइनेछ भन्नुभयो । 

“भारतबाट मोटरबाटो हुँदै भीमफेदीसम्म आएका मोटरलाई स्थानीय मजदूरहरुले बोकेर देउराली, कुलेखानी, मार्खु, चित्लाङ हुँदै थानकोटसम्म पु¥याउन प्रयोग गरिएको ऐतिहासिक महत्व बोकेको यो बाटोलाई दशँैं अगाडि नै जनताले सेवा उपभोग गर्न पाउने गरी सुधारको काम हुन्छ”, मन्त्री फुयाँलले भन्नुभयो । 

पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरूमा प्रतिकूल असर पर्ने गरी थानकोट र चित्लाङ सडक खण्ड निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने स्थानीय समाजसेवी तथा पूर्वशिक्षक वुद्धरत्न मानन्धरको भनाइ छ । 

चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन् । चित्लाङ राजा अंशुवर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ हो । त्यति मात्र हैन, द्वापरयुगमा सप्तऋषिले नुहाउने सप्तश्रीधारा पनि चित्लाङको सम्पदा रहेको स्थानीयबासी बताउँछन् । त्यसैले चित्लाङको विकासका लागि भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नति गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता रहेको स्थानीयवासीको माग छ ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.