विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा

रामपुर, १२ साउन : पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बिताउनुभयो । लामो समयसम्म विदेशमा काम गर्नुभएका बस्याल अहिले भने गाउँ फर्केर तरकारी खेतीमा रमाउनुभएको छ । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लाग्नुभएको छ ।

“पहिला गाउँमा कमाउने उपाय देखिएन, विदेशिनुपर्ने रहरभन्दा नि बाध्यता थियो, अहिले गाउँमै कृषि कार्यमा जाँगर बढेको छ”, उहाँले भन्नुभयो । विदेशबाट फर्केका यहाँका तीन युवा मिलेर २० रोपनी जग्गा भाडामा लिई तरकारी खेती गरेका छन् ।

समूहमा तरकारी खेती गर्दा विदेशमा पाएको दुःख भुल्दै गएको दीपकप्रसाद बस्याल बताउनुहुन्छ । करीब दश वर्ष सम्मको समय उहाँले कतारमा बिताउनुभयो । होटल क्षेत्रमा काम गर्ने बस्याल अहिले गाउँका जग्गामा परिवारका साथ काम गर्न पाउँदा खुशी हुनुहुन्छ ।

युवाले तीन वर्षअघि रु दुई÷दुई लाख रकम उठाएर तरकारी खेती शुरु गरेको बताएका छन् । अहिले वर्षमा करीब रु पाँच÷छ लाख बराबरको आम्दानी हुने गरेको भीमप्रसाद बस्यालले बताउनुभयो । वार्षिक रु १५ लाख बराबरको कमाई गर्ने लक्ष्य रहे पनि शुरुआती चरणमा पनि तरकारी खेतीबाट राम्रै आम्दानी भएको उहाँ बताउनुहुन्छ । यहाँ उत्पादन भएको तरकारी पाल्पा सदरमुकाम तानसेन, बुटवल बजारमा खपत भइरहेको छ । विदेशबाट गाउँ फर्केका धेरैजसो युवाले कृषि व्यवसायमा आबद्ध रहेको बगनासकाली कृषि शाखाप्रमुख राजेश बोहरा बताउनुहुन्छ । गाउँपालिकाले व्यवसायमा लागेका युवालाई प्रोत्साहनस्वरुप अनुदानका कार्यक्रम चलाएको छ ।

यस्तै, रामपुर नगरपालिका–४ देवीस्थानमा दिलबहादुर थापा र लालबहादुर थापाले पनि समूहमा तरकारी खेती गर्नुभएको छ । उहाँहरु पनि विदेशबाट फर्केलगत्तै यस व्यवसायमा लाग्नुभएको छ । तीन वर्षअघि करीब ११ रोपनी जग्गा वार्षिक रु ४० हजार बुझाउने गरी भाडामा लिएर बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । तरकारी बिक्रीबाट एक वर्षमा रु पाँच लाख आम्दानी लिनुहुन्छ ।

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गरेपछि उत्पादन राम्रो हुँदै गएको दिलबहादुर थापाले बताउनुभयो । करीब ११ वर्षको समय बहराइनमा रहँदा थापाले उच्च प्रविधिको तरकारी (हाइटेक) टनेलमा काम गर्नुहुन्थ्यो । त्यहाँको अनुभवले गाउँकै जग्गामा नयाँ सोच र प्रविधिको प्रयोग गरी तरकारी खेती शुरु गर्नुभएको हो ।

थापाको तरकारी व्यवसाय अहिले अवलोकनयोग्य बनेको छ । बहराइनमै करीब आठ वर्ष बिताउनुभएका लालबहादुर थापा पनि गाउँकै जमीनमा पसिना बगाउन पाउँदा आनन्द लाग्ने गरेको बताउनुहुन्छ । कृषकलाई नयाँ प्रविधि दिन सकियो भने उत्पादन राम्रो लिन सक्ने हुँदा प्रविधि सिकाउन स्थानीय सरकारले जोड दिनुपर्ने कृषकको माग छ ।

रामपुर नगरपालिका क्षेत्रमा करीब पछिल्लो समय कृषि व्यवसायमा युवाको आकर्षण बढ्दै गएपछि युवा स्वरोजगार अनुदानका कार्यक्रममार्फत हौसला बढाउन व्यवसायमा लगानी गरिदिएको कृषि शाखाप्रमुख रामहरि पाण्डेयले बताउनुभएको छ । वैदेशिक रोजगारीमा निकै सङ्घर्ष गरेका धेरैजसो युवा कृषिमा आबद्ध रहेको पाइएको छ । विदेशबाट फर्किसकेपछि युवाले समूह तथा व्यक्तिगत तवरले मिहेनतका साथ कृषिमा लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । ज्ञान केन्द्रले तोकेको कार्यविधिअनुसार काम गर्ने कृषकलाई व्यवसायमा सहयोग गर्ने उहाँले बताउनुभयो । रासस

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.